एजेण्डासहितको नयाँ विकल्प हामी हौं: उज्यालो नेपाल उम्मेदवार गुरुङ

पाेखरा | माघ २६, २०८२

एजेण्डासहितको नयाँ विकल्प हामी हौं: उज्यालो नेपाल उम्मेदवार गुरुङ

पोखरा:    कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । 

 

विभिन्न बस्ती, टोलमा पुगेर आफ्ना एजेण्डा बताइरहेका कुशलले नयाँ पार्टी भनेरमात्रै नहेर्न र उसको योजना, क्षमता पनि हेर्न अनुरोध गरेका छन् ।

 

कास्कीको अँधेरीखोला, मौजा, सहरी वडादेखि निर्मरपोखरीसम्म आफ्ना एजेण्डा राख्दै मतादातालाई भेट्दै हिँडेका कुशलले देशमा सुशासन र विकासका लागि अनुहारमात्र बदलेर नहुने बताए ।

 

‘सामाजिक सञ्जालमा अहिले गलत सूचना र सामाग्रीको बाढी छ । यसलाई हेरेर धेरैले रमाइलो मानेका छन् तर मतदाताले एजेण्डा, उम्मेदवारको क्षमता र उसको विज्ञता हेरेर मत दिनुपर्छ,’ कुशलले पोखरा–८ का मतदातासँग भने, ‘देशको खास समस्या कहाँनेर हो ? त्यो समाधान कसरी हुन्छ ? सुशासन कायम गर्छु भनेरमात्रै हुन्छ कि त्यो समस्या पनि पहिल्याउनुपर्छ ? यो कुरा सोधरमात्र मत दिनुहोला ।’ 
 

कुशलले फोहोरलाई मल, ग्यास, ऊर्जामा बदलेर व्यवस्थापन गर्न कसरी सकिन्छ भनेर आम्दानी, रोजगारीसँग जोड्न अनुसन्धान, प्रयोग आफूले गरेकोसमेत सुनाए । विकसित देशहरुमा पनि फोहोरको समस्या रहेको बताउँदै

 

उनले नेपालजस्तो शहरमा बेलैमा नसोच्ने हो भने ठूलो समस्या निम्तिने बताए । 

 

‘हिमाल, नदी र तालसँग सम्बन्धित पर्यटनबाट पोखराजस्तो सहरले अहिले सानो फाइदा लिएको छ । यसलाई व्यवस्थित गर्ने, पर्यावरणीय र जलवायु परिवर्तनलाई बेलैमा नीतिगत तहबाट जोड्ने काम गर्न सकिएन भने पोखरालेसमेत ठूलो क्षति बेहोर्न सक्छ,’ कुशलले भने, ‘कति उम्मेदवारले यो मुद्धा उठाइरहेका छन् र बोलिरहेका छन् ? त्यो हेरेर मत दिउँ ।’ 

 

लामो समय ऊर्जाविज्ञको रुपमा काम गरेका कुशलले नेपालमा जलवायु परिवर्तन क्षेत्रमा सरकारलाई नीति निर्माणमै सघाएका थिए ।

 

गण्डकी प्रदेशको जलवायु नीति, पोखराको ऊर्जा नीति बनाएका कुशलले भने, ‘पहिलो कुरा त नीति निर्माणमै सरकार गम्भीर भएन, दोस्रो कुरा बनेको नीति पनि ठिक ढंगले कार्यान्वयन नभएपछि म आफैं सांसद बनेर त्यो काम गर्छु भनेर घरदैलोमा आएको हुँ ।’ 

 

अहिलेको एआइको जमानामा सामाजिक सञ्जाल प्रयोग गरे पनि सबै सामाग्रीमा विश्वास गरेर धारणा नबनाउने उनले आग्रह गरेका छन् ।

 

बढ्दो सहकारीकरणले पोखराजस्तो ठाउँमा उत्पादन र रोजगारीका सिर्जना हुने क्षेत्र पहिचान गर्नुपर्ने उनको भनाइ छ ।

 

‘एकातिर हाम्रा पाटनहरु सकिँदै गए । खेतीयोग्य जमिनमा कंक्रिटका घरहरु बनेका छन्,’ कुशलले घरदैलोमा बुझाउने प्रयत्न गर्दै भनिरहेछन्, ‘सहरलाई व्यवस्थित गर्ने र खेतीयोग्य जमिनलाई प्रविधि र बजारसँग जोड्ने नीति चाहिन्छ । यो नीति पोखराका लागि मात्रै होइन, देशकै लागि चाहिन्छ ।’  

 

पोखरासहित गण्डकीले भोगिरहेको जलवायु परिवर्तनको असर, फोहोर व्यवस्थापनको मुद्धा, ऊर्जा क्षेत्रबाट लिन सकिने लाभसँगै यहाँको पर्यटन, यातायात व्यवस्थापनको मुद्धालाई कुशलले एजेण्डा बनाएर मतादाताको ध्यान खिच्ने काम गरिरहेका छन् । 

 

आफू सस्तो प्रचारबाजीमा नरमाउने, भीड जम्मा गरेर बिनाएजेण्डा हल्ला गरेर नहिँड्ने कुशलले बताइरहेका छन् ।

 

एजेण्डाका विषयमा आफूलाई पनि प्रश्न गर्न र पुराना दलको विकल्प भन्दै आएका सबै नयाँलाई पनि सोध्न उनले अनुरोध गरेका छन् । 
 

पोखरा:    कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् ।    विभिन्न बस्त...

थप पढ्नुहोस्

आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ।   नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

थप पढ्नुहोस्

नवलपुरमा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् ।   गएराति ९ बजे कावासोती १४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग.प्र.०४–००१ प ८५९२ नम्बरको ...

थप पढ्नुहोस्